महाकुलुङ गाउँपालिका वडा नं ४ मा रहेको तुमाउ स्वास्थ्य चौकीको दुई कोठे भवन एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । गाउँमै स्वास्थ्य चौकी निर्माण भएपछी यस वडा नं ४ का स्थानियवासीले उपचारका लागि टाढा जानुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।
नेपाल सरकारको शसर्त अनुदान रु ३ लाख र वडा नं ४ बाट रु २ लाख गरी जम्मा रु ५ लाख लागतमा भवनको निर्माण भएको हो । महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किरातीबाट स्वास्थ्य चौकीको विधिवत उद्द्घाटन गरियो ।
तुमाउ स्वास्थ्य चौकी उद्घाटन पछी महाकुलुङ गाँउपालिकाको सबै वडामा स्वास्थ्य चौकीको निर्माण भएको छ । स्वास्थ्य चौकी निर्माण भएपछि तुमाउ, सानो सात्दि र लुच्चामका स्थानियलाई प्रत्यक्ष फाइदा पुग्ने भएको छ । यस अघि बिरामी हुँदा २ घणटा टाढा रहेको गुदेल स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता थियो । उद्घाटनकै दिन १५ जना स्थानियवासीले सेवा लिएका थिए । यस स्वास्थ्य चौकीमा दुईजना स्वास्थ्यकर्मी समेत गाँउपालिकाले राखेको छ ।
उद्घाटनकै दिन स्वास्थ्य चौकी व्यवस्थापनको लागि अक्ष्यकोष स्थापना पनि गरिएको थियो जसमा यस गाउँपालिकाका स्वास्थ्य सह-संयोजक हरि प्रसाद आचार्यले रु ३००० , वडा नं ४ का अध्यक्ष जयकुवेर राईले रु १०,००० र निर्माण व्यसायीहरु भक्त्त कुलुङ, अम्बिरकाजी राई र विरेन्द्र राईले रु ५०,००० दिने वाचा पनि गर्नुभएको थियो ।
स्वास्थ्य चौकी उद्घाटन समारोहमा चौकी निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई पनि सम्मानसमेत गरिएको थियो ।